RayNewsDaily
एक दिन पनि टिकेन शेयर बजारको वृद्धि

रे समाचार/काठमाडौं । मौद्रिक नीतिपछि एक दिन सामान्य अंकले बढेकाे शेयर बजारले फेरि ओरालो यात्रा सुरु गरेको छ । साताको दोस्रो कारोबार दिन सामान्य अंक बढेर बन्द भएको शेयर मापक नेप्से आज पुनः घटेर बन्द भएको छ। 

 

 

आज नेप्से परिसूचक २८.५९ अंक घटेर २०७७.५८ विन्दुमा झरेको छ। आज बजारमा २६२ स्टकको ४० हजार ८३७ पटकको कारोबारमा १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ बराबरको ६० लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज ३५ स्टकको मात्र मूल्य बढेको छ। यद्यपि ती स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। आज सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.६० प्रतिशत बढेको छ। किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.५४ प्रतिशत घटेको छ। त्यस्तै, सिभिल लघुवित्त र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज अप्पर तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको ६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.३५ प्रतिशत बढेको छ। वित्त, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update