RayNewsDaily
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु   

रे समाचार/काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक राजधानीमा सुरु भएको छ । बैठकअघि आज बिहान सकिएको स्थायी कमिटी बैठकले मंसिरमा विधान अधिवेशन र त्यसको १ वर्षपछि विशेष सम्मेलन गर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव पारित गरेको छ।

प्रचण्डको यो प्रस्ताव आजको  केन्द्रीय समिति बैठकमा पेश गरिने भएको छ। बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक तथा सांगठनिक र समसामयिक प्रतिवेदन पेश गर्नुहुने छ। त्यसपछि केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ।

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । अध्यक्ष प्रचण्डगत पुसमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सरकारले सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ ।    
    
बैठकमा तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिनुभयो ।    
माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरेको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्ने गरी कार्यक्रम तय भएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update