RayNewsDaily
माओवादी अझै पार्टीजस्तो बनिसकेको छैन : प्रचण्ड

रे समाचार/काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको अहिलेको सरकारका गतिविधिले जनतामा नयाँ आशा पलाएको दाबी गर्नुभएको छ । आजदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले सरकारका कारण जनतामा आशा पलाएको बताउनु भएको हो ।

भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । देशको राजनीतिक समीकरण र उतारचढाव तथा आन्तरिक कारणले केन्द्रीय समिति बैठक ढिला गरी बसेको प्रचण्डले बताउनु भयो । अध्यक्ष प्रचण्डले माओवादी पार्टीजस्तो अझै बनिनसकेको स्वीकार गर्नुभयो । पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

PRO-Ktm--066A77251690967100.jpg

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । माओवादीले राजनीतिक र साङ्गठनिक प्रस्ताव तयार पार्न उपसमिति गठन गरेको थियो ।    
    
सो उपसमितिले तयार पारेको प्रतिवेदनलाई अध्यक्ष प्रचण्डले अन्तिम रूप दिनुभएको हो । बैठकमा सरकारको समीक्षा तथा विभिन्न पार्टीसँगको एकताका विषयमा पनि छलफल हुनेछ । केन्द्रीय समिति बैठकमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पठाएको पार्टी एकतासम्बन्धी प्रस्ताव तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको एकताका बारेमा पनि छलफल हुने माओवादीले जनाएको छ ।    
    
बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता छ । बैठक पाँच दिनसम्म चल्नेछ ।    
    
केन्द्रीय समिति बैठक अगाडि आज बिहान माओवादीको पदाधिकारी र स्थायी समितिको बैठक बसेको थियो । बैठकले अध्यक्ष प्रचण्डको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित गरेको थियो । यसअघि माओवादीको केन्द्रीय समिति बैठक एक वर्ष अगाडि गत असारमा बसेको थियो । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update