RayNewsDaily
शेयर बजारमा झिनो वृद्धि

रे समाचार/काठमाडौं । कारोबारको अधिकांश समय नकारात्मक रहेको आजको शेयर बजार अन्तिम समयमा झिनो अंक बढेर बन्द भएको छ । मौद्रिक नीति सार्वजनिक भएपछि निरन्तरजसो ओरालो लागिरहेको शेयर बजार मापक नेप्से आज भने अन्तिम समयमा बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ९.२५ अंक बढेर २०८६.८४ विन्दुमा पुगेको छ ।

आज २६९ स्टकको ३५ हजार ६४५ पटकको कारोबारमा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ बराबरको ९३ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज १३७ स्टकको मूल्य बढेको छ । ती स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ । आज आरबिबि म्युचुअल फण्ड १ को मूल्य सर्वाधिक ४.१४ प्रतिशत बढेको छ । त्यसैगरी, सिंगटी हाइड्रो इनर्जी र सिद्धार्थ इक्विटी फण्डको मूल्य ३.८९ प्रतिशत बढेको छ । प्रभु स्मार्ट फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ११ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सानिमा बैंकको संस्थापक शेयर करिब ९ करोडको खरिदबिक्री भएको छ भने प्रोग्रेशिभ फाइनान्सको करिब ७ करोडको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । आज विकास बैंक, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । जलविद्यूत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक भने घटेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update